श्रम संस्कृति पार्टीले देशभर, विशेष गरी काठमाडौँ उपत्यकामा, सुकुम्वासी व्यवस्थापनका नाममा अपनाइएका भनिएका बलपूर्वक उपायप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका महासचिव आरेन राईले जारी गरेको विज्ञप्तिमा वास्तविक सुकुम्वासीको अधिकारलाई उपेक्षा गर्दै गरिने कुनैपनि सरकारी कदम न्यायसंगत, वैध तथा दीर्घकालीन समाधान हुन नसक्ने उल्लेख गरिएको छ।
विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा भइरहेको जबरजस्ती स्थानान्तरण, अस्थायी संरचना भत्काउने तथा बल प्रयोगसम्बन्धी गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ। यस्ता कार्यले प्रभावित समुदायमा थप असुरक्षा र अस्थिरता सिर्जना गरेको दाबीसमेत गरिएको छ।
पार्टीले एकपक्षीय र असंवेदनशील नीतिगत अभ्यास निरन्तरता पाएमा राज्य र नागरिकबीचको विश्वासमा गम्भीर क्षति पुग्ने चेतावनी दिएको छ। साथै, संविधानको मूल भावना विपरीत हुने कुनै पनि कदमप्रति नागरिक स्तरबाट हुने प्रतिकारलाई स्वाभाविक तथा कानुनी रूपमा वैध मानिने धारणा विज्ञप्तिमा उल्लेख गरिएको छ।





















