गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन्। 

सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायलाई प्रसंशा–पत्रद्वारा सम्मान गरेका हुन्।

मन्त्री अर्यालले गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, नेपाली सेनाका बलाध्यक्ष रथी प्रदीपजंग केसी, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिका पदाधिकारी, गृह मन्त्रालयका उच्च अधिकारीलाई प्रशंसापत्रद्वारा सम्मान गरेका हुन्।

साथै, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायत निर्वाचनमा खटिने सबै कर्मचारी, सुरक्षाकर्मीलाई बधाईसहित सम्मान व्यक्त गरे। सो अवसरमा गृहमन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न कर्मचारी, सुरक्षा निकाय एवं सबै सरोकारवालाको महत्त्वपूर्ण भूमिकाको प्रशंसा गरे। उनले शान्तिपूर्ण रूपमा एकै चरणमा निर्वाचन सम्पन्न गरेर नयाँ मानक स्थापित गरिएको बताए। 

गृहमन्त्री अर्यालले भने,‘निर्वाचन ऐतिहासिक रूपमा सफलतापूर्वक सम्पन्न गरेर नयाँ मानक स्थापित गरेका छौं, यो पटकको निर्वाचनमा रक्तपात भएन। पुनः निर्वाचन गर्नुपरेन। सामूहिक नेतृत्व प्रणाली र सबै सरोकारवालाको बलियो समन्वयका कारण सकारात्मक परिणाम हासिल भएको छ। आगामी दिनमा पनि यसलाई कायम राख्न जरुरी छ।’

रक्षा मन्त्रालयका सचिव शर्माले निर्वाचनका दौरानमा बलियो समन्वय र सहकार्यले सफलता हात परेको उल्लेख गरे। गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता आनन्द काफ्लेले गृह मन्त्रालयको सुझबुझपूर्ण र समन्वयकारी नेतृत्वका कारण निर्वाचन सुरक्षा र शान्ति सुव्यवस्था कायम गर्नमा सकारात्मक परिणाम हासिल भएको उल्लेख गरे।