विराटनगर । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ‘हामी नै वैकल्पिक शक्ति हौँ र यो पटक चुनाव जितेरै छाड्छौँ’ भन्दै ठुला–ठुला गफ हाँकेर चुनावी मैदानमा उत्रिएका मोरङका केही उम्मेदवारहरूको नतिजा हेर्दा उनीहरूको राजनीतिक भविष्य मात्र होइन, सामाजिक साख समेत धुलोमा मिसिएको छ। चुनावी प्रचारका क्रममा आकाश–पाताल जोड्ने र विकासका फोस्रा आश्वासन बाँड्ने यी उम्मेदवारहरूलाई जनताले यसरी तिरस्कार गरिदिएका छन् कि उनीहरूले ५० मतको सामान्य आँकडा समेत छुन सकेनन्। यसमा रोचक कुरा के छ भने मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका राष्ट्रिय ऊर्जाशील पार्टीका भुवन कुमार वाग्लेले ३१ मत पाए। उनी नेपाली काँग्रेसका सुनिल कुमार शर्मालाई हराउन भनेर कम्मर नै कसेर लागेका थिए।
वाग्लेले आफ्नो प्रचार भन्दा पनि सुनिल शर्माको विरोधमा लागेका थिए। लज्जास्पद हार भएपछि उनले सुनिल शर्मा लक्षित अन्तिम स्टाटस भन्दै लेखेका छन् ‘हामीलाई झर्ने करिब ६ हजार मत हामीले नै कल छापमा झर्दा न हामीले जित्ने न वैकल्पिक शक्तिले जित्ने भयो। फागुन १२ गते देखि ती मत घण्टीतिर ट्रान्सफर गर्ने निर्णय गरेर दिनरात लागियो। त्यो मत कांग्रेस एमाले माओवादीमा कसैगरी जान नहुने र बिक्न नहुने कुरामा हामीले खबरदारी गर्यौ। अन्तिम २ रात पैसा बाँड्ने कुराको निगरानी गर्यौ।’ वाग्लेले शर्माका विरुद्ध निर्वाचनमा अयोगमा उजुरी समेत दिएका थिए।
मोरङका ६ वटै निर्वाचन क्षेत्रमा गरी दर्जनौँ यस्ता पात्रहरू भेटिएका छन्, जसले निर्वाचन आयोगको मतपत्र र राज्यको स्रोत मात्र खर्च गराए, तर जनमत प्राप्त गर्न भने पूर्णतः असफल रहे।
मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट सुरु गर्ने हो भने यहाँका स्वतन्त्र उम्मेदवारहरूको अवस्था निकै दयनीय देखिन्छ। ईश्वर वाग्लेले ४० मतमा चित्त बुझाउनु पर्यो भने याम प्रसाद दाहालले ३९ मत मात्र जोड्न सके। त्यस्तै, मिलन भण्डारीले ३१ मत, नेपाल जनमुक्ति पार्टीका फिव राज लिम्बुले ३० मत, पशुपति घिमिरेले १७ मत र मितेरी पार्टी नेपालका डिल्ली राम लिम्बुले त जम्मा १२ मत मात्रै ल्याएर आफ्नो उपस्थितिलाई हास्यास्पद बनाएका छन्।
उता मोरङ क्षेत्र नम्बर २ मा पनि हालत उस्तै रह्यो। स्वतन्त्र उठेका राजन निरौलाले ५० को आँकडा छुनै लाग्दा ४८ मतमा रोकिनु पर्यो भने अर्का स्वतन्त्र बुधु ऋषिदेवले ३५ र नरेश कुमार साहले १८ मत मात्र पाएर आफ्नो जमानत जफत गराए। यी उम्मेदवारहरुलाई उनीहरूकै आफ्नै घरका सदस्य र नजिकका छिमेकीले समेत पूर्ण रूपमा साथ नदिएको प्रष्ट हुन्छ।
क्षेत्र नम्बर ३ मा पुग्दा जय मातृभूमि पार्टीका नवराज मास्केले ५० मत कटाउन मात्र १ मतले चुकेर ४९ मतमा खुम्चिनु पर्यो। स्वतन्त्र गणेश मिश्रले ४४ मत पाउँदा यो क्षेत्रमा तेज प्रसाद भण्डारीले ३० र मजेबुल रहमानले १८ मत मात्रै जोड्न सके। क्षेत्र नम्बर ४ को अवस्था झनै निराशाजनक छ। यहाँ भक्त मणि दाहालले ४० मत ल्याउँदा नागरिक उन्मुक्ति पाटीका उम्मेदवार हरि नारायण चौधरीले जम्मा ३८ मतमा चित्त बुझाउनु पर्यो। नेपाल मजदुर किसान पार्टीका जयराम थारुले २९, स्वतन्त्र ज्ञानेन्द्र खत्रीले २५, विनोद कुमार कार्कीले १७ र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका हरनु मुसहरले त जम्मा ११ मत मात्रै जोडेर रेकर्ड नै कायम गरे।
सबैभन्दा बढी उम्मेदवारको ‘हुर्मत’ क्षेत्र नम्बर ५ मा लिइएको छ। यहाँका मतदाताले साना दल र स्वतन्त्रलाई यति नराम्रोसँग पछारेका छन् कि धेरैको मत सङ्ख्या एकल अङ्कमा सीमित भएको छ। राज कुमार राजवंशीले ४७ र मङ्गल ऋषिदेवले ३४ मत पाउँदा अन्य उम्मेदवारहरूको अवस्था निकै लज्जास्पद देखियो। नरेश कुमार लाभ र सुजित कुमार साहले २८–२८ मत, गंगा कुमारी राजवंशीले २२ मत र मङ्गोल नेशनल अर्गनाइजेसनकी सकुन्तला श्रेष्ठले १७ मत ल्याइन्। तर त्यसपछिका उम्मेदवारहरूको मत सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ: ममता यादवले १३, विकाश श्रेष्ठले ११, सूर्य नारायण ठाकुरले ५ र जय नारायण शर्माले त जम्मा ३ मत मात्र पाएका छन्। क्षेत्र नम्बर ६ मा पनि किरण खड्का र खडा नन्द रिजालले क्रमशः ३९ र ३५ मत ल्याएर ५० भोट नकटाउने उम्मेदवारको सूचीमा आफ्नो नाम सुरक्षित गरेका छन्।
कुनै एजेन्डा, सङ्गठन र जनसम्बन्ध बिना केवल ‘रहर’ र ’फेसबुक’ को चर्चाको भरमा चुनावी मैदानमा उत्रिने प्रवृत्तिलाई मतदाताले कडा झापड दिएका छन् ।




















