विराटनगर-४ स्थित खारजीमा आज बिहान मोटरसाईकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ।

कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएपी लिलाराज लामिछानेले जानकारी दिनुभयो।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका–४ राजवंशी चोक उत्तर खारजीमा आज बिहान ७ः३५ बजेको समयमा स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो। उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।