धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरेर राखिएका यात्रुबाहक बसमा आगलागी हुँदा तीन बस पूर्ण रूपमा जलेका छन् भने तीन बसमा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यलयका अनुसार गएराती ग्यारेजमा पार्किङ गरिएका बसहरूमा अचानक आगलागी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली र दमकलको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट को १ ख ६२७४, प्र १–०१–००१ ख ४०३७ र बा ४ ख ५७५९ नम्बरका बस पूर्ण रूपमा जलेर नष्ट भएका छन्। त्यस्तै, को १ ख ३८४७, बा ५ ख ५८१४ र बा ५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।

घटनामा मानविय तथा चौपाय क्षति नभएको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षतिको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।