उत्पादन, रोजगारी र सुशासनमा केन्द्रित बेलबारीको नीति तथा कार्यक्रम: कृषि र पर्यटनलाई प्राथमिकता
बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राईले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख राईले बेलबारीलाई उत्पादनमुखी, आत्मनिर्भर, सुशासित र समृद्ध नगर बनाउने लक्ष्यसहितको विस्तृत कार्ययोजना सार्वजनिक गरेका छन् ।
प्रस्तुत नीति तथा कार्यक्रममा कृषि, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
* कृषिमा आधुनिकीकरण र 'भूमि बैंक'को अवधारणा
नगर प्रमुख राईले बेलबारीलाई कृषि उत्पादनको केन्द्र (हब) बनाउने घोषणा गरेका छन् । नगर प्रमुख राईले "बाँझो जमिनको सदुपयोग गरी कृषि उत्पादन बढाउन भूमि बैंक स्थापना गरिनेछ," बताए । नीति तथा कार्यक्रममा मकै, धान, तोरी र तरकारी उत्पादनमा आत्मनिर्भर बन्दै बजारीकरणमा जोड दिने उल्लेख छ । यस्तै, वडा नम्बर ४ मा रहेको शीतभण्डार (कोल्ड स्टोर) लाई प्रभावकारी रूपमा सञ्चालन गरी किसानका उत्पादन सुरक्षित गरिने लक्ष्य लिइएको छ । दूध, मासु र अण्डामा नगरपालिकालाई पूर्ण आत्मनिर्भर बनाउने योजना समेत समेटिएको छ ।
* पर्यटन र पूर्वाधार विकास
बेलबारीको गौरवको रूपमा रहेका बेतना सिमसार,अमना सिसौली , धिमाल जाति संरक्षण केन्द्र, धनपालगढी र रमिते क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने भएको छ । पर्यटन गुरुयोजना निर्माण गरी 'धार्मिक तथा सांस्कृतिक पर्यटन' प्रवर्द्धन गर्ने र धिमाल समुदायमा आधारित होमस्टेलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । पूर्वाधारतर्फ नगरका मुख्य सडकहरूलाई कालोपत्रे गर्ने र नगरपालिकालाई 'फुसको छाना मुक्त' बनाउने अभियानलाई निरन्तरता दिइने नगर प्रमुखले बताए ।
*निःशुल्क शिक्षा र स्वास्थ्य सेवामा पहुँच
शिक्षा क्षेत्रमा आमूल सुधार गर्ने लक्ष्यसहित सामुदायिक विद्यालयको गुणस्तर वृद्धि, डिजिटल सिकाई प्रणाली र कक्षा १२ सम्मको मासिक शुल्क निःशुल्क गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ । स्वास्थ्यतर्फ 'एक घर, एक धारा'को अवधारणा, नगर अस्पतालको स्तरोन्नति, २४ घण्टा एम्बुलेन्स सेवा र ५ वर्ष मुनिका बालबालिकालाई कुपोषणमुक्त बनाउने पोषण कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।
*श्रम, रोजगारी र युवा स्वरोजगार
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीपलाई उपयोग गर्दै आन्तरिक रोजगारी सिर्जना गर्न 'रोजगार संवाद मञ्च' र उद्यमी विकासका कार्यक्रमहरू ल्याइएको छ । महिलाहरूले सञ्चालन गर्ने व्यवसाय दर्तामा सहुलियत दिने र 'श्रमको सम्मान, राष्ट्रको अभियान' अन्तर्गत सीपमूलक तालिम सञ्चालन गरिने नीतिमा उल्लेख छ ।
*लागत सहभागिता र सुशासन
पूर्वाधार विकासमा जनसहभागिता बढाउन 'लागत सहभागिता'को मोडेल प्रस्तुत गरिएको छ । जसमा सडक, ढल, सिँचाइ र भवन निर्माणमा नगरपालिकाले ८० देखि ९० प्रतिशतसम्म लगानी गर्ने र बाँकी जनश्रमदान वा उपभोक्ताको लागत रहने व्यवस्था गरिएको छ । नगरपालिकाको सेवालाई प्रविधिमैत्री र 'स्मार्ट सिटी'को अवधारणामा लैजाने प्रतिवद्धता नगर प्रमुख राईले व्यक्त गरे ।
*शान्ति सुरक्षा र विपद् व्यवस्थापन
बजार क्षेत्रमा सीसीटीभी जडान, नगर प्रहरीको क्षमता विकास तालिम र वन क्षेत्रमा मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग गरिने भएको छ ।
नीति तथा कार्यक्रमको समापन गर्दै नगर प्रमुख राईले बेलबारीको समृद्धिका लागि जनप्रतिनिधि, कर्मचारी, निजी क्षेत्र र आम नगरवासीको सक्रिय सहयोगको अपेक्षा गरेका छन् ।नगर प्रमुख राईले यो नीतिले बेलबारीलाई एक नमुना र आत्मनिर्भर नगरपालिका बनाउने विश्वास दिलाएका छन् ।

















