राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले देशभित्र सम्भावनाअनुसारकै उत्पादन बढाएर देशवासीलाई खुवाउन चाहेको बताएका छन्। मंगलबार सुनसरीको इटहरीमा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै बालेनले पूर्वी तराईका तीन/चार वटा जिल्लाको पूर्ण सम्भावनामा धान उत्पादन गर्नसके सिंगो देशभरि खुवाउन सकिने बताए। 

तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी इटहरीवासीले खान नपाएको उनको भनाइ छ। ‘चिया पिउनुभयो ? चिया कुन ठाउँको पिउनुभयो ? इलाम दमकको चिया,’ प्रश्न गर्दै सम्बोधन शुरू गरेका उनले भने, ‘खाना खानुभयो ? बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको खानुभयो। तेह्रथुम पाँचथरमा उत्पादन भएको खान पाउनुभाुछैन तपाईंहरूले, हाम्रै पूर्वी पहाडमा उत्पादन भएको तरकारीहरू यहीमुनि तराईमा झापा, सुनसरी, मोरङ र विराटनगरमा खान पाइएको छैन। यो दुःखको कुरा हो, त्यो दुःखको समाधान गर्नुपर्छ, यो दुःखको समाधान गर्ने पार्टी बन्न चाहन्छ रास्वपा।’

बालेनले उदयपुरलाई इन्डोनेसिया र बाली जस्तो विकास गर्न सकिने बताए। यस क्षेत्रमा धर्तीको पहिलो तीर्थस्थल बराहक्षेत्र भएको हुँदा यसलाई संसारभर प्रचार गरेर पर्यटक भित्र्याउन सकिने उनले बताए। साथै, धरानमा पानीको अभाव भएको कुरा सुनेको भन्दै नजिकै रहेको सप्तकोशीबाट लिफ्टिङ गरेर ५–६ अर्बको बजेटमा पानी ल्याउन सकिने बताए।

देशका लागि खेल्ने खेलाडी झण्डै ६० प्रतिशत पूर्वबाटै जन्मिएको भन्दै यस भेगमा राम्रो स्टेडियम नभएको बताए।