राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले झापा–५ मा आफू भोट माग्न नभई न्याय माग्न आएको बताएका छन्।
चुनावी अभियानका क्रममा आज (मंगलबार) झापा आइपुगेका उनले दमकमा सभालाई सम्बोधन गर्दै मतदाताले आफूलाई मत दिने वा नदिने विषयमा पहिले नै निर्णय गरिसकेको हुनसक्ने भन्दै आफू भोटका लागि आग्रह गर्न नआएको स्पष्ट पारे।
“तपाईंहरूले मन बनाइसक्नु भएको छ, यहाँ भोट माग्न आउनुपर्दैन। म यहाँ भोट माग्न होइन, न्याय माग्न आएको हुँ,” रविले भने, “म झापा–५ मा न्याय माग्न आएको छु।”
लामिछानेले चुनाव जित्नु वा भोट पाउनु सामान्य प्रक्रिया भएको तर न्याय प्राप्त गर्न भने लामो समय कुर्नुपर्ने अवस्था रहेको टिप्पणी गरे। “भोट त सबैले पाउँछन्, चुनाव त सबैले जित्छन्,,” उनले भने, “तर न्याय पाउनका लागि युग पर्खनुपर्छ।”
उनले आफूमाथि पनि अन्याय भएको बताए। “अन्याय ममाथि पनि भएको छ, मेरो चिन्ता गर्नुपर्दैन,” उनले भने, “तर, देशको न्यायको लागि भोट हाल्नु पर्नेछ।”
झापा–५ मा रास्वपाबाट वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी मैदानमा छन्।




















