रामेछापको मन्थली नगरपालिका-६ स्थित तामाकोसी नदीमा भएको बस दुर्घटनामा परी बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोसी र सुनकोसी नदीका विभिन्न क्षेत्रमा खोजीको क्रममा सोमबार बिहान सुनकोसीको खुर्कोट पुल नजिक शव फेला परेको हो।

फेला परेको शव मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय क्रिचन तामाङको रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट ओखलढुङ्गाका लागि छुटेको बा.प्र.००१–०५ ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका-६ स्थित त्रिवेणी पुल नजिकैबाट तामाकोसी नदीमा खसेको थियो। दुर्घटनामा १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।

बसमा सवार तीन जना बेपत्ता भएका थिए। रामेछाप प्रहरीका अनुसार लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका ८ वर्षीय रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका २४ वर्षीय विशाल सुनुवार अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख भोला भट्टले बेपत्ताको खोजी कार्य जारी रहेको जानकारी दिएका छन्।