निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित समाचार प्रकाशित गर्ने अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्र पठाएको छ।
आयोगले सेतोपाटी अनलाइनले आचारसंहिता विपरीत समाचार लेखेको भन्दै आवश्यक कारबाहीका लागि सोमबार पत्राचार गरेको हो।
आयोगले चितवन-३ सम्बन्धी ‘सोविता गौतमले जित्नेछिन् निर्वाचन : रेणु दाहाल दोस्रो’ तथा ‘भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ’ शीर्षकका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पत्रमा उल्लेख भएअनुसार उक्त सामग्री निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड (त) तथा दफा २५ को उपदफा (१) को खण्ड (ख) सँग प्रतिकूल देखिएको आयोगको निष्कर्ष छ। दफा ४ को खण्ड (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामसम्बन्धी मत सर्वेक्षण गर्न, त्यस्तो सर्वेक्षणको परिणाम घोषणा वा प्रकाशन गर्न नहुने व्यवस्था छ।
त्यसैगरी, दफा २५ को उपदफा (१) को खण्ड (ख) मा कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने प्रावधान रहेको आयोगले उल्लेख गरेको छ।
उक्त प्रावधान विपरीत गतिविधि भएको देखिएको भन्दै आयोगले निर्णयअनुसार आवश्यक कारबाही गर्न प्रेस काउन्सिल नेपालसमक्ष अनुरोध गरेको जनाएको छ।





















