आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा (एमाले) का तर्फबाट मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार इरनकुमार राईले आफ्ना मुख्य चुनावी प्राथमिकताहरू सार्वजनिक गरेका छन्। उम्मेदवार राईले आफ्नो निर्वाचन क्षेत्रको विकास, रोजगारी सिर्जना र पूर्वाधार सुधारलाई मुख्य आधार बनाएर चुनावी एजेन्डाहरू अघि सारेका हुन्।

राईले सार्वजनिक गरेको प्रतिबद्धतामा मोरङ क्षेत्र नम्बर ३ मा लामो समयदेखि थाती रहेको भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानलाई विशेष प्राथमिकता दिइएको छ। जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्ने र सुकुम्बासीहरूलाई जग्गा व्यवस्थापनका लागि विशेष पहल गर्ने उनले बाचा गरेका छन्। यस्तै, कृषि क्षेत्रको आधुनिकीकरणका लागि विशेष कृषि पकेट क्षेत्रु घोषणा गर्ने, उत्पादन वृद्धि गर्ने र किसानको आम्दानी बढाउने ठोस योजना राईले अघि सारेका छन्।

भौतिक पूर्वाधारतर्फ पूर्व–पश्चिम लोकमार्ग आसपासका सहायक सडकहरूको स्तरोन्नति गर्ने र सिँचाइ तथा खानेपानीको समस्या समाधानका लागि नदी तथा खोलाको पानी व्यवस्थापन गर्ने योजना राईको प्राथमिकतामा छ। उनले बहुउद्देश्यीय चिसाङ नदी डाइभर्सन परियोजनालाई अघि बढाउने दाबी गरेका छन्, जसबाट सिँचाइ र खानेपानी मात्र नभई पर्यटन प्रवर्द्धन र विद्युत उत्पादनमा समेत दीर्घकालीन लाभ पुग्ने बताइएको छ।

युवा र शिक्षाको क्षेत्रमा उम्मेदवार राईले अध्ययनलाई रोजगारीसँग जोड्ने नयाँ अवधारणा ल्याएका छन्। प्राविधिक शिक्षाको विस्तार र स्थानीय क्याम्पसहरूको स्तरोन्नति गर्ने बाचा गर्दै उनले युवाहरूलाई स्वदेशमै उद्यमशील बनाउन ुस्टार्टअप पूँजीु र सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताएका छन्। युवाहरूलाई अनुशासित र सक्षम बनाउन उनले अर्धसैनिक तालिम, स्काउट र एनसीसी जस्ता कार्यक्रमहरूलाई विद्यालयस्तरमै प्रोत्साहन गर्ने प्रस्ताव समेत गरेका छन्। यस्तै, सिमसार क्षेत्र र पोखरीहरूको संरक्षण गरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उनको योजना छ।

यसैबीच, नेकपा (एमाले) मोरङ क्षेत्र नम्बर ३ का निर्वाचन परिचालन समिति संयोजक युवराज बस्कोटाले पार्टीको यो प्रतिबद्धता र नीतिलाई जनस्तरसम्म पुर्‍याउन अभियान सुरु गरिएको जानकारी दिएका छन्। बस्कोटाका अनुसार विभिन्न तहका नेता, कार्यकर्ता र सर्वसाधारणको सुझाव समेटेर यो चुनावी दस्तावेज तयार पारिएको हो। उनले यो चुनाव केवल उम्मेदवारको मात्र नभई राजनीतिक स्थायित्व र समृद्धिका लागि सिंगो पार्टीको अभियान भएको बताए।