बंगलादेशका नवनिर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा नेपालबाट परराष्ट्र मन्त्री बालानन्द शर्मा सहभागी हुने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्री शर्मालाई उक्त समारोहमा सहभागी हुन जान भनेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। लगत्तै आजै परराष्ट्र मन्त्री शर्मा बंगलादेशको ढाका जाँदैछन्।
बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले दुई तिहाइ बहुमत पाएको छ। बीएनपीका प्रमुख तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिँदैछन्। उनको शपथ ग्रहण समारोह मंगलबार हुँदैछ।
बंगलादेशमा फरबरी १२ मा भएको आम निर्वाचनमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपीं) ले दुई तिहाइ बढी सिट जितेको छ। यससँगै बीएनपीका तारिक रहमानले मंगलबार प्रधानमन्त्री पदको शपथ लिँदैछन्।
बीएनपीले रहमानलाई संसदीय दलको नेतामा चयन गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको छ। रहमान पूर्व प्रधानमन्त्री खालिजा जियाका छोरा हुन्।
शपथ ग्रहणमा भाग लिन अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुसले नेपालसहित चीन, साउदी अरेबिया, भारत, पाकिस्तान, टर्की, यूएई, कतार, मलेसिया, ब्रुनेई, श्रीलंका, माल्दिभ्स र भुटानका सरकार प्रमुखलाई शपथ ग्रहण समारोहमा निमन्त्रणा पठाएका थिए।
नेपालको तर्फबाट मन्त्री शर्माले प्रतिनिधित्व गर्ने भएका हुन्।




















