प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अछाम जिल्ला क्षेत्र नं. २ मा उम्मेदवारी समायोजन गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले समर्थन गर्ने सहमति भएको हो।

आइतबार भएको आपसी समझदारीअनुसार रावलले आफ्नो उम्मेदवारी फिर्ता लिँदै शाहको पक्षमा समर्थन जनाउने निर्णय गरिएको बताइएको छ। लोकतान्त्रिक मूल्य-मान्यता, सुशासन, पारदर्शिता तथा राजनीतिक परिवर्तनका साझा एजेन्डालाई सुदृढ बनाउने उद्देश्यले सहकार्य गर्ने सहमति भएको जनाइएको छ।

सहमति दस्तावेजअनुसार शाहले अछाम क्षेत्रको पूर्वाधार विकास, रोजगारी सिर्जना, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति अवलम्बन, कृषि तथा स्थानीय उत्पादनको संरक्षण-प्रवर्द्धन तथा दुर्गम क्षेत्रका नागरिकसम्म राज्य सेवा प्रभावकारी रूपमा पुर्‍याउनेलगायत विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उज्यालो नेपाल पार्टीले पनि शाहको पक्षमा चुनावी अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ। सहमति पत्रमा दुवै उम्मेदवारको हस्ताक्षर रहेको जानकारी दिइएको छ।