महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रबाट पाकेटमार्ने, गाँजा सेवन गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्न १३८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार पर्वका दिन भीडको फाइदा उठाउँदै पाकेटमार्ने, धकेलाधकेल गर्ने, गाँजा सेवन गर्ने र अन्य अवाञ्छित गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

महाशिवरात्रिको अवसरमा देशभरबाट ठूलो संख्यामा दर्शनार्थीहरू पशुपति क्षेत्रमा पुगेका थिए। भीड व्यवस्थापन र सुरक्षा सुदृढ बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। आइतबार बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेपछि सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न कडा निगरानी गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले पर्वका अवसरमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न विशेष योजना लागू गरिएको र आगामी दिनमा पनि निगरानी जारी रहने जनाएको छ।