नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनी नसकेको बताएका छन्। आइतबार भद्रपुर विमानस्थलमा अध्यक्ष ओलीले पार्टी चुनावको तयारीमा लागिरहेको तर ढुक्कको वातावरण बनी नसकेको बताएका हुन्। 
यस बारेमा सरकारले धेरै कुरा जान्नुपर्ने ओलीको भनाइ छ।  ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौ, चुनावको वातावरण त यसै भन्न सकिन्न अझै पनि।’  यद्यपि, उनले अब चुनाव हुन्छ भन्ने आफूले ठानेको बताए। 
यसअघि अध्यक्ष ओलीले झापा क्षेत्र नं. ५ का कमल, गौरादह तथा गौरीगञ्जका विभिन्न टोलमा पुगेर मतदाताहरूसँग भेट गरेका थिए। आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ बाट उम्मेदवार रहेका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली २०४८ सालको निर्वाचन देखि नै यही भूगोलबाट निर्वाचित हुँदै आएका छन्।
झापा क्षेत्र नं. ५ का सबै मतदातासँग भेट्ने आफ्नो तयारी रहेको ओलीको भनाइ छ।