झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा यति बेला विपक्षी दलभन्दा पनि आफ्नै पार्टीका दुई शक्तिशाली परिवार ठूलो टाउको दुखाइ बनेका छन्। बाहिरबाट हेर्दा एमालेको 'अजेय किल्ला' जस्तो देखिए पनि भित्रभित्रै मुख्यमन्त्री हिक्मत कार्की र थापा परिवारको फलामे पर्खालले ओलीलाई जनताबाट टाढा धकेल्दै लगेको भन्दै कार्यकर्तामा विद्रोहको भुसको आगो दन्किएको छ। 

झापा ५ का मतदाताको प्रष्ट सन्देश छ— ‘हामीलाई केपी ओलीसँग कुनै गुनासो छैन, तर उनलाई हाइज्याक गरेर बस्ने कार्की र थापा परिवारको ठेकेदारी प्रथा अब स्वीकार्य छैन।’ यो क्षेत्रको सम्पूर्ण राजनीति अहिले कोशीका मुख्यमन्त्री हिक्मत कार्की र थापा परिवारको मुठ्ठीमा कैद भएको आरोप स्थानीय कार्यकर्ताको छ। एमाले सचिव हिक्मत कार्की आफैँ मुख्यमन्त्री छन्। उनका दाजु दीपक कार्की केन्द्रीय सदस्य र भाउजू लीला कट्टेल कार्की अनुशासन आयोगको सदस्य छिन्। उता थापा परिवारमा पनि होमबहादुर थापा र गोविन्द थापा दुवै दाजुभाइ केन्द्रीय सदस्य छन्। दमकका पुराना कार्यकर्ता भन्छन्, 'पार्टीमा त्याग र तपस्या गर्नेहरूको अवमूल्यन गरेर केवल दुईवटा परिवारलाई मात्र पदको थुप्रो लगाइयो। हिक्मत कार्की र थापा दाजुभाइले ओलीलाई यसरी घेरेका छन् कि आम जनताले उहाँलाई भेट्न भिसा नै लिनुपर्ने अवस्था छ।

यसअघि विरलै मात्र आफ्नो क्षेत्रमा घरदैलो गर्ने ओली यसपटक आफैँ टोल–टोलमा पुग्नुको पछाडि यी दुई परिवारले सिर्जना गरेको एन्टी–इन्कम्बेन्सी शक्तिमा बस्नेहरूप्रति वितृष्णानै मुख्य कारण हो। केही दिनअघि एक स्थानीयले ओलीकै अगाडि कार्की र थापाहरूको व्यवहारप्रति आक्रोश पोखेका थिए। 

'तपाईंलाई भेट्न कार्की र थापाहरूले रोकेका छन्, उनीहरू आफूलाई यो क्षेत्रको 'सरदारु र हामीलाई रैती सम्झिन्छन्,' ती मतदाताले भनेपछि ओलीले तत्कालै जवाफ दिएका थिए— अबदेखि केही काम परे कार्कीलाई फोन नगर्नु, देवेन्द्र दाहाललाई फोन गर्नु। ओलीले आफ्नै सचिव (हिक्मत कार्की) को विकल्पमा देवेन्द्र दाहाललाई अघि सार्नुले कार्की र थापा परिवारप्रति ओली आफैँ पनि सशंकित र असन्तुष्ट रहेको प्रष्ट पारेको छ।

गौरादह र दमकका पुराना एमाले कार्यकर्ताका अनुसार कार्की र थापा परिवारले ओलीको नाम बेचेर आफ्ना आफन्त र नजिकका मान्छेलाई मात्र अवसर दिएका छन्। दमककी पूर्वउपमेयर गीता अधिकारीलाई मेयरमा पराजित भएपछि पनि योजना आयोगमा पुर्‍याउनु र थापा परिवारका ज्वाइँ रोमनाथ ओलीलाई शक्तिमा टिकाइराख्नुले पारिवारिक सिन्डीकेट कति बलियो छ भन्ने देखाउँछ। 

'हामीले रगत पसिना बगाएर संगठन बनायौँ, तर मलाई भेट्न आउने जनतालाई कार्की र थापाले 'गेट' बाटै फर्काइदिन्छन्,' एक स्थानीय नेताले गुनासो गरे। यही पहुँचको पर्खाल तोड्न नसक्दा अहिले धेरै कार्यकर्ताहरू रास्वपाका बालेन्द्र शाह (बालेन) तिर आकर्षित हुन थालेका छन्। 

मुख्यमन्त्री हिक्मत कार्की यतिबेला फेसबुकमा डिजिटल वारु लड्न व्यस्त छन्। ओलीको निर्देशन भन्दै उनी दैनिक दर्जनौँ स्टाटस लेखेर विपक्षीलाई गाली गरिरहेका छन्। तर, झापाका एमाले नेताहरू भन्छन्— फेसबुकमा स्टाटस लेखेर भोट आउँदैन। जनताले मुख्यमन्त्री कार्की र थापा परिवारको ठेकेदारी शैलीलाई घृणा गरिसकेका छन्। ओलीले यी दुई परिवारको जञ्जालबाट आफूलाई मुक्त नगरे यसपटकको परिणाम निकै महँगो पर्न सक्छ।

झापा ५ को यसपटकको निर्वाचन केपी ओलीको विरुद्धमा भन्दा पनि कार्की र थापा परिवारको अधिनायकवादु विरुद्धको जनमत सङ्ग्रह जस्तो बनेको छ। यदि ओलीले यी परिवारको घेराबन्दी तोड्न सकेनन् भने, बालेन शाहको बढ्दो क्रेजले एमालेको लालकिल्ला ढल्ने खतरा बढेर गएको छ। फागुन २१ ले केपी ओलीको भविष्य मात्र होइन, कार्की र थापाको 'पारिवारिक सिन्डीकेट' को पनि फैसला गर्नेछ।