अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सही र समयमै सूचना प्रवाहको आवश्यकता रहेको बताएका छन्। उनले यो कुरा ‘मिडियामा सूचनाको हकको प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा व्यक्त गरे।
नेपाल पत्रकार महासंघ र राष्ट्रिय सूचना आयोगले काठमाडौँको तीनकुनेमा संयुक्त रूपमा आयोजना गरेको उक्त अन्तरक्रियामा मन्त्री खनालले भने, “समाजको शान्ति, सभ्यता र सौहार्द कायम राख्नका लागि सूचना सही समयमा र उचित कारणले उपलब्ध गराउन आवश्यक छ।” उनले विभिन्न व्यक्तिले एउटै सूचना फरक-फरक समयमा पाएमा त्यसले ठूलो प्रभाव पार्ने बताए।
मन्त्री खनालले थपे, “अर्थतन्त्रको सन्तुलित विकास, सरकारी क्रियाकलापको पारदर्शिता र समाजमा सौहार्द कायम राख्न सूचना सही समयमा र सही तरिकाले उपलब्ध गराउनुपर्छ।”
उनले सूचनाको हक प्रयोग गर्दा केही व्यक्तिले त्यसलाई समाचारको लागि नभई स्वार्थका लागि प्रयोग गर्ने प्रवृत्ति बढेको उल्लेख गरे। अर्थ मन्त्रालयबाट प्राप्त सूचना पनि कहिलेकाहीँ व्यक्तिगत स्वार्थ पूरा गर्न प्रयोग हुने गरेको गुनासो मन्त्री खनालले व्यक्त गरे।
त्यसैगरी, उनले सूचनाको हक केवल सरकारी क्षेत्रमै सीमित नभई व्यावसायिक क्षेत्र र अन्य गतिविधिहरूमा समेत लागू हुने भएकाले यो हक सर्वसाधारणसमक्ष पुर्याउन प्रचार-प्रसार आवश्यक रहेकोमा जोड दिएका छन्।




















