नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपरासी क्षेत्र नम्बर १ का उम्मेदवार विनोद चौधरीले आगामी निर्वाचनमा कांग्रेसलाई सय सिट पार गराउने लक्ष्य रहेको बताएका छन्। उनले अबको दिशा सय सिट पार गराएर सभापति गगनकुमार थापालाई प्रधानमन्त्री बनाउनु रहेको बताए।
शुक्रबार बर्दघाट नगरपालिका वडा नम्बर १६ मा चुनाव प्रचार प्रसार कार्यालयको उद्घाटन गर्दै चौधरीले सोही अनुरूप कार्यकर्ता र आम शुभेच्छुकलाई चुनावमा खटिन आग्रह गरे।
कांग्रेसको एकरूपता र जनलहर देखेर केही प्रतिस्पर्धी अताल्लिएको र हतोत्साहित भएर विभिन्न चलखेल शुरू भए पनि क्रमिक रूपमा त्यो घट्दै गएको उल्लेख गर्दै उनले सबैलाई उत्साहपूर्वक चुनावमा होमिन अनुरोध गरे।
बदलिएको कांग्रेसलाई आगामी १० वर्षसम्म कसैले पनि औंला उठाउन नसक्ने ठाउँमा पुर्याउनु पर्नेमा चौधरीले जोड दिए।
फरक प्रसङ्गमा बोल्दै उनले बर्दघाट १६ मा रहेको सूर्यनगर रङ्गशालालाई यो क्षेत्रकै नमूना रङ्गशाला निर्माण गर्न सकिने उल्लेख गर्दै त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए।
‘नेपाली क्रिकेट कप्तान रोहित पौडेल जन्मिएको यस क्षेत्रमा रहेको सूर्यनगर रङ्गशालालाई नमूना रङ्गशालाको रूपमा विकास गरी भोलिका दिनमा यहीँ टी(२० खेलाउन सक्ने गरी सबै लागौं, म प्रतिबद्ध छु’, उनले भने।
बर्दघाट नगरपालिकाका नगरप्रमुख शम्भुलाल श्रेष्ठले चौधरीको तीन वर्षे कार्यकालमा थुप्रै उपलब्धि हासिल भएको उल्लेख गर्दै अधुरा योजनाको पूर्णता र ५ वर्षे स्थायी कार्यकालका लागि उम्मेदवार चौधरीलाई विजयी गराउनुपर्ने बताए।




















