मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधी र लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
माघ २९ गते विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटिएको प्रहरी टोलीले रंगेली नगरपालिका-४ चोप्राहाका २६ वर्षीय विपिन कुमार मण्डललाई ६ ग्राम ४ सय ३० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित रंगेली-७ स्थितबाट पक्राउ गरेको छ।
यसैगरी, इलाका प्रहरी कार्यालय तरहरा सुनसरीले इटहरी-२० स्थितबाट सोही स्थानका इमन याख्खा, सुजन राई र निमा घलेलाई प्रतिबन्धित औषधी ८० चक्की सहित, अस्थायी प्रहरी पोष्ट बस पार्क ईनरुवाले इटहरी-१८ का २४ वर्षीय परमेश्वर चौधरीलाई १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर सहित र सुनसरीको अस्थायी प्रहरी चौकी जनताबस्तीले धरान-५ का फुर्वा तामाङलाई प्रतिबन्धित औषधी ५२ चक्की सहित इटहरी-५ बाट नियन्त्रणमा लिएको छ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।




















