बेलबारी। सिंहदेवी एकेडेमीको प्लसटु सेक्टरमा सञ्चालन भइरहेको १५ दिने स्पोर्ट मिट तथा फुड फेस्टिबल अन्तर्गत हिजो सम्पन्न भलिबल प्रतियोगितामा विभिन्न विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा लक्ष्मी माध्यमिक विद्यालय, शिक्षा सन्देश विद्यालय, कसेनी माध्यमिक विद्यालय, धनपाल माध्यमिक विद्यालय, भगवती माध्यमिक विद्यालय तथा सिंहदेवी एकेडेमीका टिमहरूले सहभागिता जनाएका थिए।

रोमाञ्चक प्रतिस्पर्धापछि सिंहदेवी एकेडेमी प्रथम स्थान हासिल गर्न सफल भएको छ भने लक्ष्मी माध्यमिक विद्यालय द्वितीय भएको आयोजकले जनाएको छ। खेल प्रतिस्पर्धात्मक र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

WhatsApp Image 2026-02-13 at 9.02.55 AMकार्यक्रमका प्रमुख अतिथि ज्ञानेन्द्र सुवेदीले खेलकुद तथा अतिरिक्त क्रियाकलापले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो। उहाँले कक्षाकोठाभित्रको अध्ययन मात्र पर्याप्त नहुने भन्दै नेतृत्व, अनुशासन र सहकार्य भावना विकासका लागि यस्ता गतिविधि आवश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रम संयोजक तथा सिंहदेवी एकेडेमीका सञ्चालक रविन थापाले स्पोर्ट मिट पढाइमा असर नपर्ने गरी सञ्चालन भइरहेको जानकारी दिनुभयो। साथै सम्पूर्ण विद्यार्थीलाई अनुशासन र खेलभावनासहित सहभागी हुन आग्रह गर्नुभयो।

WhatsApp Image 2026-02-13 at 9.02.55 AM (2)स्पोर्ट मिटसँगै फुड फेस्टिबल पनि सञ्चालन भइरहेको थियो, जहाँ विद्यार्थीहरूले विभिन्न परिकारहरू सुलभ मूल्यमा उपभोग गरिरहेका थिए। आगामी दिनहरूमा रिले दौड लगायत अन्य खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।

१५ दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने विश्वास लिइएको छ।