विराटनगर। नेपाली कांग्रेसका संस्थापक बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको राजनीतिक विरासत बोकेको मोरङमा यसपटकको निर्वाचन निकै रोचक मोडमा पुगेको छ।

विशेषगरी मोरङ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेको पक्षमा जनलहर बढ्दै गएपछि यहाँको चुनावी अंकगणित फेरिने संकेत देखिएको छ। पछिल्ला दुई निर्वाचनमा लगातार जित हासिल गरेका तत्कालिन माओवादी केन्द्रका अमनलाल मोदी यसपटक पनि मैदानमा भएपनि मतदाताहरूमा देखिएको ‘परिवर्तनको चाहना’ घिमिरेका लागि बरदान साबित हुने देखिएको छ।

नेपालमा गणतन्त्र स्थापनाका लागि २०६२/६३ को जनआन्दोलनमा निर्णायक भूमिका खेलेका नेविसंघका तत्कालीन अध्यक्ष गुरूराज घिमिरे अहिलेसम्म सांसद वा मन्त्री बनेका छैनन्। लामो राजनीतिक इतिहास भएपनि सत्ता र शक्तिभन्दा टाढा रहेका घिमिरेको यहि ‘सादगी र निष्कलंक’ छवि नै अहिले मतदाताका लागि मुख्य आकर्षण बनेको छ। अघिल्ला चुनावहरूमा अन्य दलसँगको तालमेलका आधारमा जितेका मोदीविरुद्ध यसपटक मतदाताहरूले विकल्प खोजिरहेका बेला घिमिरेलाई ‘नयाँ र अवसर नपाएको’ नेताका रूपमा हेरिएको छ।

मोरङको नेताचोकमा भेटिएका ७६ वर्षीय कमलेस चौधरीले यसअघि अमनलाल मोदीलाई भोट हालेको भए पनि यसपटक नयाँ अनुहारलाई हेर्ने सोच बनाएको बताए।

त्यस्तै, ग्रामथान–६ का मोहम्मद तसलिम र ग्रामथानकै रामकुमार सरदार पनि यसपटक नयाँ र फरक व्यक्तिलाई अवसर दिने पक्षमा देखिएका छन्। उनीहरू जस्तै धेरै मतदाताहरूले ‘नयाँ’ को खोजी गरिरहँदा संसदमा प्रवेश नगरेका घिमिरेलाई नै त्यो रिक्तता पूर्ति गर्ने उम्मेदवारका रूपमा हेरिएको छ। कटारी–४ का राजेश राम र प्रमोद रामले पनि अब पैसाले भोट किन्ने दिन गएको भन्दै गाउँमा नयाँ लहर पुगेको बताए।

यस क्षेत्रमा नेकपा एमालेबाट जीवन घिमिरे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सन्तोष राजवंशी पनि प्रतिस्पर्धामा छन्। रास्वपाले बालेन शाहको क्रेज र नयाँपनको प्रचार गरिरहेको भए पनि पाका मतदाता र राजनीतिक स्थिरता चाहनेहरूका लागि गुरूराज घिमिरे नै भरपर्दो विकल्प बनेका छन्।  विराटनगर–१९ का नमोनारायण राजवंशीका अनुसार मानिसहरू अझै खुलेर नबोले पनि भित्रीरूपमा माहोल परिवर्तनको पक्षमा छ।

मोरङ–४ मा लामो समयदेखि एउटै अनुहार दोहोरिएका कारण सिर्जना भएको निराशा र घिमिरेजस्तो बौद्धिक एवं त्यागी नेताको उम्मेदवारीले कांग्रेसको यो पुरानो गढमा फेरि उत्साह थपिएको छ।

सत्ताको स्वाद नचाखेका तर परिवर्तनका लागि लडेका घिमिरेलाई यसपटक संसद् पुर्‍याउनुपर्छ भन्ने जनमत बलियो बन्दै जाँदा यो क्षेत्रमा कांग्रेसको विरासत पुनः फर्किने सम्भावना देखिएको नेताहरु बताृछन्। चुनाव नजिकिँदै गर्दा घिमिरेको सादगी र निष्ठापूर्ण राजनीति नै मोरङ ४ का मतदाताको पहिलो रोजाइ बन्ने देखिन्छ।