बांङ्लादेशमा बिहीबार भइरहेको निर्वाचन क्रममा दुई समूहबीच झडप हुँदा बांङ्लादेश नेसनलिस्ट पार्टी (बिएनपी) का एक नेताको मृत्यु भएको छ।

खुलना सदर क्षेत्रस्थित आलिया मदरसा मतदान केन्द्रमा भएको झडपमा बिएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको हो। उनी खुलना मेट्रोपोलिटन बिएनपीका पूर्वसचिव थिए।

स्थानीय बिएनपी नेताहरूले झडप क्रममा धक्का लागेपछि उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन्।

दुवै पक्षबीच भनाभन भएको थियो। त्यस क्रममा कोचीको स्वास्थ्य अवस्था बिग्रिएको र अस्पताल लैजाँदा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

यसैबीच खुलना-२ निर्वाचन क्षेत्रका बिएनपी उम्मेदवारका मुख्य प्रतिनिधि मोहम्मद मोनिरुज्जमान मोनीका अनुसार बिहान करिब ८ बजे आलिया मदरसाका कार्यवाहक प्रधानाध्यापक मोहम्मद अब्दुर रहीमले जमातका पक्षमा प्रचार गर्न थालेका थिए। त्यस क्रममा कोचीले उनलाई रोकेपछि विवाद सुरू भएको थियो।