बेलबारी नगरपालिका–२ स्थित श्री सिंहदेवी आधारभूत विद्यालयको ३४औँ वार्षिक उत्सव तथा अभिभावक दिवस विशेष समारोहकाबीच भव्य रूपमा सम्पन्न भएको छ। सोही अवसरमा विद्यालयका लागि निर्माण गरिएको दुई कोठे नवनिर्मित पक्की भवन औपचारिक रूपमा विद्यालयलाई हस्तान्तरण गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगरप्रमुख दिल प्रसाद राई रहनुभएको थियो भने विशिष्ट अतिथि बेलबारी नगरपालिका वडा नं. २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङ रहनुभएको थियो। कार्यक्रमको सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रहाङ राईले गर्नुभएको थियो।
शिलालेखमा उल्लेख भएअनुसार स्वर्गीय भीमप्रसाद राईको स्मृतिमा उहाँका छोरा इन्द्रहाङ राई तथा परिवारजनको पहलमा करिब १२ लाख ३८ हजार रुपैयाँ बराबरको लागतमा दुई कोठे पक्की भवन निर्माण गरिएको हो। उक्त भवन विद्यालयको शैक्षिक पूर्वाधार सुदृढीकरणका लागि श्री सिंहदेवी आधारभूत विद्यालयलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगरप्रमुख दिल प्रसाद राईले शिक्षा क्षेत्रको विकासमा स्थानीय समुदाय र दातृ परिवारको योगदान अत्यन्तै प्रशंसनीय रहेको उल्लेख गर्दै यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर उकास्न ठूलो टेवा पुग्ने बताउनुभयो। विशिष्ट अतिथि वडाध्यक्ष कृष्णबहादुर गुरुङले पनि विद्यालयको भौतिक संरचना विस्तारमा सहयोग पुर्याउने दातृ परिवारप्रति धन्यवाद ज्ञापन गर्नुभयो।
सभापति इन्द्रहाङ राईले स्वर्गीय पिताको स्मृतिमा विद्यालयलाई भवन सहयोग गर्न पाउँदा गर्व महसुस भएको बताउँदै विद्यालय र विद्यार्थीहरूको उज्ज्वल भविष्यका लागि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुति, अभिभावक सहभागिता तथा विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो। स्थानीय बासिन्दा, अभिभावक, शिक्षक तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा विद्यालयप्रति समुदायको अपनत्व र सहयोगको भावना स्पष्ट रूपमा देखिएको थियो।






















