दार्चुलाको महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सोही घटनामा संलग्न अन्य चार जना फरार भएका छन्।

घर्तीको हत्यामा संलग्न रहेको आशंकामा महाकाली नगरपालिका–४ बस्ने २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बमलाई पक्राउ गरिएको छ।

फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।

प्रारम्भिक अनुसन्धानका अनुसार अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै श्रीमान् आशिक र उनका भाइले कुटपिट गरेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

एसएसपी विष्टका अनुसार घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको छ। घटनापछि फरार रहेकाहरूको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।