सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको आयोजनामा सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी (ई-रिक्सा) चालकहरुलाई  “सुरक्षित चालक” पोशाक वितरण गरिएको छ। माघ २६ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-१ स्थितमा आयोजित कार्यक्रममा विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार, मर्यादित बनाई व्यवस्थितरूपमा सञ्चालन गरी सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटि सफारी चालकहरुलाई “सुरक्षित चालक” पोशाक वितरण गरिएको हो।

उक्त कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि घिमिरेले सवारी चालक अनुमति पत्र प्राप्त गरी नियमअनुसार सवारी सञ्चालन गर्ने चालक नै सुरक्षित चालक भएकोले सवारी दुर्घटना न्यूनीकरणमा चालकलाई जिम्मेवारी बनाउन पोशाकले थप भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो। बर्दीमा भएका प्रहरी जसरी नियममा रहेका हुन्छन् त्यसरीनै सुरक्षित चालकको जिम्मेवारी लिएका सिटी सफारी चालकहरुले ट्राफिक नियमको पालना गरी यात्रु सुरक्षालाई उच्च प्राथमिकतामा राखी आफुलाई दिएको पोशाकको कदर गरी अमर्यादित र नियम बिपरीतको कार्यहरु नगर्न अनुरोध गर्नु भयो। मन्तब्यकै क्रममा प्रमुख अतिथि घिमिरेले ट्राफिक प्रहरी कर्मचारीहरुले सवारी चालक, सह(चालक तथा सडक प्रयोगकर्ताहरु प्रति समान ब्यवहार गर्दै प्रभावकारीरुपमा ट्राफिक व्यवस्थापन मिलाई सवारी दुर्घटना न्यूनिकरण गरी ट्राफिक प्रहरीको छविलाई उच्च बनाउन निर्देशन दिनु भयो। 

कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दिपक गिरीले विराटनगर महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सिटी सफारीलाई लक्षित गरी ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित बनाउने उद्देश्यले सवारी चालक अनुमति पत्र प्राप्त गरेका सिटी सफारी चालकहरूलाई “सुरक्षित चालक” पोशाक प्रदान गरिएको बताउनु भयो । छोटो दूरीको यात्राका लागि उपयोगी रहेको सवारी साधन ट्राफिक नियम उल्लंघन गरी असुरक्षित तरिकाले सञ्चालन गरेको  कारण दुर्घटनाको जोखिम हुने भएकाले चालकको पोशाकको प्रयोगले ट्राफिक नियमको पालना बढ्ने तथा सवारी दुर्घटना न्यूनीकरणमा कमी आउने साथै सिटी सफारी सञ्चालनलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै आम यात्रुको सुरक्षामा सकारात्मक प्रभाव पार्ने बताउनु भयो।

कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक शन्तोष न्यौपानेले कोशी प्रदेशको राजधानी तथा औद्योगिक क्षेत्र रहेको विराटनगरमा सिटि सफारीलाई व्यवस्थित रुपमा सञ्चालन गरी सवारी आवागमन सहज बनाउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्न  सुरक्षित चालक अभियान कार्यक्रम अन्तरगत सिटि सफारीका चालकहरुलाई चालक पोशाक वितरण गरिएको  बताउनुभयो। वहाँले सिटि सफारीलाई दर्ता गर्दै अभिलेखीकरण गरेर चालकहरुलाई ट्राफिक नियम तथा सुरक्षित सवारी संचालन सम्बन्धी नियमित अनुशिक्षण तालिमहरु समेत प्रदान गरीने बताउनु भयो।

कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र प्रसाद दुलालले महानगर क्षेत्र भित्र सञ्चालनमा रहेका सिटि सफारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन स्थानीय तह सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो। यसैगरी सिटि सफारी चालक संघका प्रतिनिधि भगवान बस्नेतले सिटि सफारीलाई सुरक्षित, अनुशासित, जिम्मेवार बनाई सवारी दुर्घटना न्यूनीकरण गर्न चालक पोशाक प्रभावकारी रहेको बताउनु भयो।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे लगायत अतिथिहरुले चालक पोशाकको अनुमोदन गर्नुका साथै विराटनगर महानगरपालिका क्षेत्र भित्र संचालनमा रहेका सवारी चालक अनुमति पत्र प्राप्त सिटि सफारीका चालकहरुलाई ट्राफिक नियमको पालना गरी सुरक्षित यात्राको कामनाका साथ नम्वर सहितको “सुरक्षित चालक” लेखिएको ज्याकेट वितरण गर्नु भएको थियो।

कार्यक्रममा यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कट्वाल, महेन्द्र मोरङ बहुमुखी क्याम्पसका उप-प्राध्यापक मनिता भण्डारी, पत्रकार महासंघ मोरङका अध्यक्ष सुशीला पाठक, विकल्प एण्ड अल्टरनेटिभका अध्यक्ष बसन्त अधिकारी, आईटी ईन्जिनियर सन्देश पोखरेल, प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, शिक्षक तथा विद्यार्थीहरु, सिटि सफारी चालक संघका प्रतिनिधि तथा चालकहरुको उपस्थिति रहेको थियो।