संखुवासभाको मकालु गाउँपालिका–५ मुढेमा ट्याक्टरले किचेर एकजना मजदुरको मृत्यु भएको छ।
गए राति मकालु–५ मुढेमा ना५त ७०८१ नं को ट्याक्टरले किचेर उत्तर–दक्षिण कोसी राजमार्गमा कार्यरत मजदुर नेमलाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए।
गुडिरहेको ट्याक्टरबाट खसेका तामाङलाई ट्याक्टरको पछाडिको टायरले किचेर घटनास्थलमै मृत्यु भएको हो। मृतक तामाङ उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत निर्माणाधीन खाँदबारी–किमाथांका सडकखण्ड कार्यरत मजदुर हुन्।
घटनालगत्तै सिन्धुली घर भई हाल संखुवासभा बस्दै आएका चालक फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज अर्यालको नेतृत्वमा प्रहरी टोली खटिएको छ।
उक्त ट्याक्टर मकालु–५ स्थित नुम बजारमा पार्किङ गरी राखेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। फरार चालकको खोजी भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















