सुनसरीको हरिनगरा गाउँपालिका–१ स्थित एक किराना पसलबाट सामान खरिदका क्रममा नक्कली नोट दिएको सूचनापछि प्रहरीले एक जना युवालाई नियन्त्रणमा लिएको छ।

गएराति किराना पसलमा नक्कली नोट प्रयोग गरिएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रामनगर भुटाहाबाट खटिएको टोलीले शंकास्पद व्यक्तिलाई चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा इनरुवा नगरपालिका–१० बस्ने २५ वर्षीय बहिस मियाँको साथबाट जाली नोट जस्तो देखिने नेपाली रुपैयाँ एक हजार दरका २८ थान फेला परेका छन्। बरामद नोटको कुल रकम २८ हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

नक्कली नोटसहित पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याइएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।