निर्वाचनको सरगर्मी बढ्दै जाँदा प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सार्वजनिक बहसको विषयले राजनीतिक बहसलाई थप चर्काएको छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने र देश जलाउने शक्तिबीचको प्रतिस्पर्धाका रूपमा निर्वाचनलाई व्याख्या गर्दै सार्वजनिक बहसका लागि आफू तयार रहेको घोषणा गरेपछि त्यसमा प्रतिक्रिया आउन थालेको छ।
अध्यक्ष ओलीले सामाजिक सञ्जालमार्फत सार्वजनिक बौद्धिक वृत्तबाट पारदर्शी बहसको माग उठिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका सबै दल र नेताहरू एउटै मञ्चमा उभिएर एजेन्डा, विगतको काम र भविष्यको कार्य योजनामाथि आमने–सामने बहस गर्न तयार रहेको बताएका थिए। सामाजिक सञ्जालमा ‘फ्रेमिङ’ गरिएका प्रचार सामग्रीमार्फत वास्तविकता लुकाउने प्रवृत्ति देखिएकाले यस्तो बहस आवश्यक भएको उनको भनाइ थियो।
ओलीको उक्त अभिव्यक्तिपछि काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहले 'आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईँहरूलाई नै थाहा थियो। तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गत्ते जलाएको हो। आफूलाई आतङ्कवादी चाहिँ कहिले स्विकार्ने हो ? त्योपछि अरू कुरा गरौँला ।'
शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क गरेका छन्।