निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ।

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मुख्यमन्त्री कार्की पनि सहभागी भएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो।

विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै आयोगले मुख्यमन्त्री कार्कीलाई पत्र पठाएको हो।

निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयन जस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ।