बुद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतसहितका व्यक्तिहरू संलग्न रहेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ। नयाँ राजनीतिक दलको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं रहेका छन्।

बिहीबार आयोगमा यो पार्टी विधिवत् दर्ता भएको हो। व्यवसायी बस्नेत भने पार्टीको सदस्यको भूमिकामा छन्। पार्टीको विधानमा एउटा महत्त्वपूर्ण र फरक व्यवस्था राखिएको छ। पदाधिकारीहरूले चुनाव लड्न पाउने छैनन्। यद्यपि, बस्नेत पदाधिकारी नभई सदस्य मात्र रहेकाले उनलाई भने आगामी चुनावमा उम्मेदवार बन्नका लागि कुनै बाधा हुने छैन।

पार्टीले जारी गरेको आह्वान पत्रमा नेपालको राजनीतिमा नयाँ सोच र संस्कारको आवश्यकता औँल्याइएको छ। जहाँ सोचयुक्त र सिर्जनशील राजनीति गर्न भनिएको छ। ‘गतिशील लोकतान्त्रिक पार्टी’ले अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारको विकास गरी समावेशी र समतामूलक उज्ज्वल भविष्य स्थापित गर्न जरुरी रहेको उल्लेख गरेको छ।