न्यून सेवा, सुविधा मार्फत निगमलाई विशेषज्ञ सेवा प्रदान गरिरहनु भएका चिकित्सकहरूलाई निरुत्साहित नगर्न नेपाल वायु सेवा निगमले अनुरोध गरेको छ।
राष्ट्रिय ध्वजावाहकप्रति सेवा भाव राखी सहयोग गरिरहनु भएका चिकित्सकहरूको बारेमा पेशागत मनोबल गिर्ने गरी गलत प्रचार नगरिदिनुहुन पनि निगमले आग्रह गरेको छ।
निगममामा आंशिक समय पालैपालो सेवा दिनेगरी ९ जना चिकित्सकहरू रहेको निगमका प्रवक्तद्धय सुवास डाँगी र मनोज कुमार साहद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।
निगमले डा. अस्मिता अर्याललाई कसैको दबाब र प्रभावमा नभई कानुन बमोजिम नै सेवाका लागि नियुक्त गरिएको स्पष्ट पारेको छ।
उनलाई गलत तरिकाले नियुक्त गरिएको आरोप लागेकोप्रति खण्डन गर्दै निगमले अन्य चिकित्सकहरू सरह नै डा. अर्याललाई पेशागत विज्ञता, दक्षता र क्षमताका आधारमा सेवामा लिइएको स्पष्ट पारेको हो।
निगमले आफ्नो सञ्चालनको सुरुवाती दिनहरूदेखि नै कर्मचारी कल्याणकारी परियोजना अन्तर्गत आम कर्मचारीहरू र उनीहरूका निकट परिवारका सदस्यहरूको निःशुल्क तथा पाइलट, इन्जिनियर र क्याबिन क्रु लगायतका प्राविधिक जनशक्तिहरूको अनिवार्य नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्दै आएको छ।
उडान सेवालाई प्रभावकारी, विश्वसनीय र सुरक्षित गराउन नियमित स्वास्थ्य परीक्षण अनिवार्य रहेकाले यसलाई अन्यथा नलिन पनि निगमले सबैलाई अनुरोध गरेको छ।