नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालैको जेनजी आन्दोलन, सरकारको लापरबाही, राजनीतिक दलहरूको भूमिका, आगामी निर्वाचन, वामपन्थी एकता लगायतका विषयमा स्पष्ट धारणा राखेका छन्।
बिहीबार बिहान चितवनको भरतपुरमा पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत संगठित भएको युवाको आन्दोलनलाई ‘नयाँ राजनीतिक चेतना’ को संकेतको रूपमा लिँदै यसले विगतदेखि उठाउँदै आएका माओवादीका मागहरूसँग मेल खाने बताए।
उनले भने, ‘युवाहरूले उठाएका मागहरू हाम्रो आन्दोलनसँग अभिन्न छन्। हाम्रो पार्टीले आरम्भदेखि उठाउँदै आएको भ्रष्टाचारविरोधी अभियान अहिलेको जेनेरेसन जेडको स्वर बनेर प्रस्तुत हुनु गौरवको कुरा हो।’
संयोजक प्रचण्डले २३ गते राजधानीमा भएको आन्दोलनको क्रममा देखिएको ‘गम्भीर सुरक्षा लापरबाही’ लाई घटनाको मुख्य कारण ठहर गर्दै तत्कालीन प्रधानमन्त्री तथा सरकार प्रमुखको भूमिकाको आलोचना गरे।
‘युवाहरूको आन्दोलन विशुद्ध शान्तिपूर्ण थियो। तर सरकारले सुरक्षा संयन्त्रको तयारी नगरेको र संवेदनशीलतापूर्वक व्यवहार नगरेकाले स्थिति हिंसात्मक बन्यो। गोली हानिँदा कलेज ड्रेसमा रहेका युवाहरूको टाउको र छातीमा लक्षित गरिनु अन्तर्राष्ट्रिय रूपमा नै लज्जास्पद बन्यो’, प्रचण्डको भनाइ छ।
संयोजक प्रचण्डले घटनापछि २३ गते राति नै काठमाडौँ फर्केर पार्टीको आकस्मिक बैठक बसेको र सबैभन्दा पहिले माओवादी केन्द्रले आन्दोलनका मृतकलाई सहिद घोषणा गर्ने, उच्चस्तरीय छानबिन गठन गर्ने र प्रधानमन्त्रीको राजीनामाको माग गर्दै आधिकारिक निर्णय सार्वजनिक गरेको बताए।
