गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा भत्किएका प्रहरी पोष्ट पुनर्स्थापना भइसकेको बताएका छन्।
गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘भत्किएका, नासिएका प्रहरीपोस्टहरू पुनर्स्थापना भइसकेका छन्।’ कति प्रहरी पोष्ट भत्किएका थिए भन्ने विवरण भने उनले खुलाएनन्।
यसका अलावा भागेका कैदीबन्दीहरूलाई फर्किन भनिएको र नफर्किएकालाई अब नियन्त्रणमा लिइने उनले बताए। खोसिएका हतियारहरू समेत फिर्ता गर्न भनिएको उल्लेख गर्दै उनले थपे, ‘फिर्ता भएनन् भने हामी अपरेशन नै चलाउँछौं।’ सुरक्षा दिने कुरामा सरकार संवेदनशील रहेको उनले बताए।
व्यक्तिगत रुपमा कसैलाई थ्रेट भए निवेदन दिन सकिने उनको आग्रह छ। निवेदन आएपछि थ्रेटको व्याख्या हुने र त्यसआधारमा चाँडो भन्दा चाडो निकास दिइने उनले बताए।