आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल सुपर–६ अन्तर्गत नेपालले आज ओमानलाई ३८ रनले पराजित गरेको छ। 

नेपालले पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो। त्यसपछि लक्ष्य पछ्याउने क्रममा ओमानले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर ११३ रन मात्र बनाउन सक्यो।

नेपालका बलरले उत्कृष्ट प्रदर्शन गरे। गुलशन झा ३, नन्दन यादव र सोम्पाल कामीले २–२ विकेट लिँदा सन्दीप लामिछानेले पनि किफायती स्पेल फाले।

ओमानतर्फ सबैभन्दा धेरै विनायक शुक्लाले १९ बलमा ३२ रन बनाए भने मोहमद नदीमले २५ रनको योगदान दिए। तर अन्य ब्याट्सम्यानहरूले ठूला साझेदारी बनाउन सकेनन्।

त्यसअघि नेपालका ओपनर कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्कासहित ६९ रन बनाए। यो उनको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट करियरको १३औँ अर्धशतक हो भने जारी प्रतियोगिताको दोस्रो अर्धशतक हो। साथी ओपनर आसिफ शेखले २० बलमा दुई चौका र एक छक्कासहित २४ रन जोडे। 

गुल्सन झाले नौ बलमा दुई छक्का प्रहार गर्दै १८ रन जोडे भने मोहम्मद आदिल आलमले १५ बलमा १६ रनको योगदान दिए।

बलिङतर्फ ओमानका नदीम खानले उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा मात्र २० रन खर्ची चार विकेट लिए। त्यस्तै सुफयान मेहमुद र जितेन रमानन्दीले समान दुई–दुई विकेट हात पारे।

नेपाल र ओमान दुबैले विश्वकपको यात्रा भने तय गरिसकेका छन्।