कालीमाटी फलफूल तथा तरकारी बजारमा भित्रिएको अकबरे खुर्सानीमा अत्याधिक मात्रामा विषादी भेटिएको छ।

मकवानपुरका दुई किसानबाट कालीमाटी बजारमा ल्याइएका अकबरे खुर्सानीमा क्रमशः ४९.०३२ र ५१.४४६ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ।

केन्द्रीय कृषि प्रयोगशालाले सोमबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ थरी तरकारी तथा फलफूलको नमूना परीक्षण गर्दा यस्तो तथ्य सार्वजनिक भएको हो। परीक्षण अनुसार, सो खुर्सानीमा पाइएको विषादीको मात्रा सरकारले तोकेको सीमा भन्दा निकैमाथि रहेको छ। सरकारको मापदण्ड अनुसार अर्गानोफस्फेटको मात्रा ३५ प्रतिशतभन्दा कम भएमा मात्र उपभोगयोग्य मानिन्छ। 

५ देखि ४५ प्रतिशतसम्म पाइएमा केही दिन राखेपछि मात्र खान मिल्ने प्रावधान छ भने ४५ प्रतिशतभन्दा बढी भएमा त्यस्ता तरकारी उपभोगका लागि पूर्ण रूपमा अयोग्य ठहरिन्छन्।

यसअघि पनि सोमबार मकवानपुरबाट ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत विषादी फेला परेको थियो। त्यस्तै, गत बिहीबार कालीमाटी बजारमा बिक्रीका लागि ल्याइएका हरियो फर्सी, काँक्रो र घिरौँलामा समेत अत्यधिक मात्रामा विषादी अवशेष भेटिएको थियो।