गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले भदौ २३ र २४ गते जेन जी आन्दोलनका क्रममा ध्वस्त भएको सिंहदरबार बग्गी खानास्थित ट्राफिक कन्ट्रोल रुमको पुनर्निर्माणलाई तीव्रता दिएको छ।
देशका सबै जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने केन्द्रीय ट्राफिक कन्ट्रोल रुम बग्गी खाना परिसरको प्राविधिक पुनर्निर्माण लागि झन्डै एक करोड रकम खर्च लाग्ने अनुमान गरिएको छ। सोही अनुसार काम भइरहेको छ। एनआरएनए अध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार जेनजी आन्दोलनका क्रममा धेरै भौतिक संरचनाहरू ध्वस्त भएको र आफूहरूका तर्फबाट ट्राफिक कन्ट्रोल निर्माण गरिरहेको जानकारी दिए।
‘धेरै अत्यावश्यक संरचनाहरू ध्वस्त भएका थिए। त्यसमध्ये हामीले के गर्ने भनेर साथीहरुबीच सल्लाह भयो। र केही साथीहरू मिलेर केही रकम सङ्कलन गरेर करिब एक करोडको लागतमा कन्ट्रोल रुम बनाइरहेका छौँ र केही समयमा निर्माण सम्पन्न हुनेछ,’ उनले अगाडि भने,‘नेपाल सरकारका मन्त्री कुलमान घिसिङले हामीलाई सवारी लाइसेन्स छाप्ने मेसिन खरिद गरिदिनुहोस् भन्नुभएको छ। त्यसमा हामी सकारात्मक छौँ।’
कन्ट्रोल रुमको काम सकेपछि करिब तीन करोड लागत पर्ने लाइसेन्स मेसिन खरिद गर्नेगरी छलफल अगाडि बढाएको उनले जानकारी दिए। ‘पहिलो चरणमा ट्राफिक कन्ट्रोल रुम, दोस्रोमा लाइसेन्स मेसिन र तेस्रोमा ब्रेथलाइजर मेसिन खरिद गरेर सरकारलाई सहयोग गर्ने कि भन्ने सल्लाहमा छौँ,’ अध्यक्ष श्रेष्ठले भने।
सडक सुरक्षाका लागि सबैभन्दा महत्त्वपूर्ण स्थानको रूपमा रहेको ट्राफिक कन्ट्रोल रुम पुनर्निर्माणका लागि लाग्ने सबै खर्च एनआरएनएले नै व्यहोर्ने निर्णय गरेको हो। बग्गी खाना ट्राफिक कन्ट्रोल रुम अत्याधुनिक संरचनासहित पुनर्निर्माण हुने भएपछि मुलुकभरको ट्राफिक व्यवस्थापन प्रभावकारी हुने अनुमान गरिएको छ।