जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन्। सांसद विकास कोषको रकम दुरुपयोग गरेको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार, कुशवाहाले सांसद विकास कोषमार्फत सञ्चालन हुने योजनाको रकमबाट ३७ प्रतिशतसम्म कमिसन आफैंको खातामा लगेको प्रमाण फेला परेको छ। उनीमाथि सो रकम निजी स्वार्थमा प्रयोग गरेको अभियोग लगाइएको छ।

पूर्वगृहराज्यमन्त्री समेत रहेका कुशवाहा यसअघि पनि सोही आरोपमा पक्राउ परेका थिए र अदालतबाट तारेखमा छुटेका थिए। अहिले उनलाई विशेष अदालतमा मुद्दा दर्ता गर्ने प्रयोजनका लागि पुनः पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारले यसअघि महोत्तरी क्षेत्र नं.–४ (ख) स्थित उनको घरमा छापा मार्दा विभिन्न योजनासम्बन्धी कागजात र मोबाइल उपकरण बरामद गरेको थियो। ती उपकरण र कागजातहरू डिजिटल फरेन्सिक परीक्षणका लागि पठाइएको आयोगले जनाएको छ।

कुशवाहा यसअघि पनि २० जेठमा काठमाडौंको अनामनगरबाट पक्राउ परेका थिए। दोहोरिएको पक्राउले सांसद विकास कोषको रकम दुरुपयोग प्रकरणमा थप प्रमाण फेला परेको संकेत मिलेको अख्तियार स्रोतले बताएको छ।

अख्तियारले अब कुशवाहाविरुद्धको सबै प्रमाण संकलन गरी विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी थालेको जनाएको छ।