सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी पुस्ताका मागहरू पूरा गर्न सरकार अहोरात्र काम गरिरहेको दाबी गरेका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न मन्त्री खरेलले यस्तो दाबी गरेका हुन्। आन्दोलनले उठाएका मुद्दाहरू आगामी पाँच महिनाभित्र पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त उनले गरे।
‘जेन–जी युवाहरूका माग पूरा गर्नको लागि सुशीला कार्की नेतृत्वको नागरिक सरकारले पाएको म्यान्डेट पुरा गर्न अहोरात्र काम गरिरहेका छौं,’ सञ्चारमन्त्री खरेलले भने।
भ्रष्टाचारविरुद्धका युवा आन्दोलनका म्याण्डेटहरू पूरा गर्न सरकारले निरन्तर प्रयास गरिरहेको उनको भनाइ छ। उनले आफ्नो कार्यकालभर केही गर्न नसकेपनि नियतबस गलत कार्य नगर्ने पनि बताए।
‘अब सञ्चार मन्त्रालयमा मेरो पाँच महिनाको अवधि बाँकी छ। कति गर्न सकिन्छ त्यो त थाहा छैन तर जानेर, बुझेर, नियतबस खराब केही पनि गर्ने छैन। बरु जस्तो गएको थिएँ त्यस्तै फर्किन्छु। अबको पाँच महिनाको अवधीभित्र जेन–जी आन्दोलनले दिएका म्यान्डेटहरु पूरा गर्नुपर्नेछ,’ खरेलले भने।
उनले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने सवालमा सरकार दृढ रहेको पनि बताए।
