जेनजीको प्रदर्शनका क्रममा सुनसरीमा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले सुनसरीस्थित इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेपछि बढेको तनावबीच प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रकाश पराजुलीले बताएका छन् । उनका अनुसार मृतकको पहिचान भने खुल्न सकेको छैन । यस्तै प्रदर्शनका क्रममा घाईते चार जनाको विराट टिचिङ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सरकारविरुद्ध आन्दोलनरत जेन-जी पुस्ताका प्रदर्शनकारीहरूले इटहरी उपमहानगरपालिका कार्यालय भवनमा आगो लगाएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । आगजनीबाट उपमहानगर कार्यालय भवनमा ठूलो क्षति पुगेको छ ।
प्रदर्शनकारीले कार्यालयमा रहेका सरकारी कागजपत्र, फर्निचरलगायतका सामग्री भवनबाहिर ल्याएर जलाएका छन् ।यसअघि प्रदर्शन चर्किँदै जाँदा सुनसरी प्रशासनले इटहरीमा कर्फ्यू आदेश जारी गरेको थियो । जेन-जीले बिहान ११ बजेदेखि इटहरीको मुख्य चोक घेरेर प्रर्दशन गरेका थिए ।
त्यसपछि जेन-जीले उपमहानगरपालिका कार्यालयअगाडि गएर प्रर्दशन गरेका थिए । प्रदर्शन उग्र बनेपछि उपमहानगरपालिका कार्यालयमा आगजनी गरिएको थियो । त्यसपछि तनाव चुलिँदा प्रहरीले गोली चलाएको थियो ।
