सर्वोच्च अदालत बार एसोसिएसनले जेन जेडको प्रदर्शनका क्रममा भएको दमनको कडा शब्दमा निन्दा गरेको छ।
सचिव रमणकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै घटनाले राज्य प्रशासनको निरङ्कुश छविलाई उजागर गरेको जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, “जेन जेडको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रयोग तथा सुरक्षाकर्मीले चलाएको गोली लागी सयौँ प्रदर्शनकारी घाइते भएका र सार्वभौम नागरिकको मृत्यु समेत हुन गएकोतर्फ यस बारको गम्भीर ध्यानाकर्षण भएको छ।”
सर्वोच्च बारले विरोध प्रदर्शन गर्नु सार्वभौम नागरिकको मौलिक अधिकार भएको प्रस्ट्याउँदै सरकारले स्थिति थप प्रतिकूल हुन नदिन संयमित, मर्यादित र जिम्मेवार व्यवहार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।