वीरगञ्जमा हैजाको सङ्क्रमण बढेर १ सय १४ पुगेको छ।
स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मङ्गलवार रातिसम्म १ सय १४ जनामा हैजा सङ्क्रमित पुष्टि भएको हो।
यसैगरी, वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखालाका कारण उपचारका लागि भर्ना भएका बिरामीको सङ्ख्या हालसम्म ४२२ पुगेको छ। तीमध्ये २ सय २३ जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।
महानगरपालिकाले हैजा सङ्क्रमणको प्रमुख कारण दूषित खानेपानी हुनसक्ने अनुमान गर्दै पानीको नमुना सङ्कलन गरी प्रयोगशालामा परीक्षण गराइरहेको जनाएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा परीक्षण गरिएको १० वटा नमुनामध्ये ८ वटामा हैजाको सङ्क्रमण पुष्टि भएको छ भने बाँकी २ वटाको रिपोर्ट आउन बाँकी छ।
सङ्क्रमण फैलिन थालेपछि वीरगञ्ज महानगरले मातहतका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यालयका शिक्षक तथा कर्मचारीलाई हैजा नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ। महानगरपालिकाले सरसफाइ अभियान र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ।
चिकित्सकहरूले सुरक्षित पानी उमालेर मात्र पिउन, खुला शौच नगर्न र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन सर्वसाधारणलाई आग्रह गरेका छन्।
