मोरङ कारागारमा थुनामा रहेकी एक महिला मृत अवस्थामा भेटिएकी छन्।
सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधा भट्टराई बुधबार बिहान कारागारको महिला सेलमा रहेको शौचालयभित्र मृत अवस्थामा भेटिएकी जेलर गौरव ढुंगेलले जानकारी दिए।
सुनसरी जिल्ला अदालतले ०८१ कात्तिक ७ गते कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय सुनाएको थियो। उनी ०८० साल माघ ५ गतेदेखि मोरङ कारागारमा थुनामा थिइन्।
राधा आफ्ना दुई नाबालक सन्तानसहित सप्तकोसी नहरमा हामफालेकी थिइन्। उनीसहित एक सन्तानको उद्धार गरिएको थियो। अर्को सन्तानको ज्यान गएको थियो। त्यसपछि उनीविरुद्ध कर्तव्य ज्यानको आरोपमा मुद्दा चलाइएको थियो।
घटनाको थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ।