मोरङका छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पथरीशनिश्चरे र विराटनगरमा दुर्घटना भएको हो।
प्रहरीका अनुसार कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ आयल निगममा सोमबार बिहान ४ः३५ बजेतिर मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले ढाटबाट कञ्चनबारीतर्फ आउँदै गरेको को ३७ प २६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको जानकारी दिए।
मोटरसाइकल डीभाईडरमा ठोक्किएर दुर्घटना हुँदा चालक सप्तरीको मधुवन घर भएका अन्दाजी २४ वर्षीय अरविन यादवको मृत्यु भएको लम्सालले बताए। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
यसैबीच, पथरीशनिश्चरे नगरपालिका–२ स्वागत टोलमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट १ जना वृद्धको मृत्यु भएको छ। पथरीशनिश्चरे–२ का ६७ वर्षीया दिलमान साम्बाको मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पहिचान नखुलेको सवारीसाधनले आइतबार राति १० बजेतिर ठक्कर दिँदा साम्बा गम्भीर घाइते भएका थिए। उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो।
उपचारका क्रममा सोमबार बिहान ३ः३० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। साम्बालाई ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।


















