भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ। 
जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परीक्षणका लागि आवश्यक उपकरण नभएपछि शव धरान पठाइएको हो।
शनिवार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए। 
तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिएको छ। हत्या स्वीकार गरेका राजेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमै प्रहरीको निगरानीमा उपचार भइरहेको उनले बताए। 
‘बिरामीको उपचार र सबको पोष्टमार्टमपछि थप खुल्न सक्छ। प्रहरी अनुसन्धानकै क्रममा रहेको छ,’ उनले भने। 
राजेन्द्रको शरीरका केही भागमा चोट देखिएकाले प्रहरीको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ। छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको देखिएको छ।