आज नेपाललगायत विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ। हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ।
नेपालमा बालश्रम न्यूनीकरण गर्न सरकारले विभिन्न सङ्घ सस्तासँग मिलेर काम गरिरहेको भएपनि केही क्षेत्रमा भने बालश्रम बढेको नै देखिन्छ।
सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको छ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) का नेपालस्थित कार्यालयमा राष्ट्रिय परियोजना संयोजक नारायण प्रसाद भट्टराईले बाल श्रमिक विरुद्ध समस्या समाधान गर्न आइएलओले सरकारी निकाय एवम् स्थानीय तहसँग मिलेर काम गरिरहेको बताउँछन्। 
उनले २०२८ सम्म हरेक पालिकालाई बालश्रम मुक्त गर्ने लक्ष्य राखेको बताए। उनले सरकारले पनि बालश्रममुक्त पालिका भनेर घोषण गर्न सुरुवात गरिसकेकाले स्थानीय निकायदेखि नै बाल श्रमिकलाई रोक्ने प्रयास भइरहेको बताउँछन्। 
उनले उक्त अभियान अन्तर्गत १५० वटाले स्थानीय तहले काम गरिरहेको र नौ वटाले बाल श्रमिक मुक्त नगरपालिका घोषण गरिसकेको साथै त्यसलाई दिगो रूपमा कायम गर्न स्थानीय सरकारले शिक्षा नीति जोड दिनुपर्ने बताए।  
उनले नेपालमा सबैभन्दा बढी बाल श्रमिक कृषि क्षेत्र, इट्टा भट्टा, गलैँचा उद्योगमा रहेको बताए। उनले नेपालमा गरिबी र दैविक विपत्तिका कारण पनि जीविकोपार्जनका लागि पनि श्रममा लागेको जानकारी दिए। उनले बाल श्रममुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता रहेको बताए।
‘क्षेत्रगत हिसाबले हेर्ने हो भने बाल श्रमिक बढेको भनेको कृषि क्षेत्रमा हो। २०१७ को तथ्याकं अनुसार ११ लाख बालबालिका मध्य ८७ प्रतिशत बालबालिका कृषि क्षेत्रमा संलग्न रहेको देखाउँछ। त्यस बाहेक निर्माण एवम् उत्पादन क्षेत्रहरूमा पनि लाग्ने गरेका छन्। जस्तै इट्टा भट्टामा, गलैँचा उद्योगतिर बढी बालबालिका प्रयोग भएका छन्,’ उनले भने,‘बालश्रमका पनि विभिन्न प्रकारका छन्। एउटा साधारण बालश्रम र अर्को निकृष्ट प्रकारका बालश्रम हो। निकृष्ट किसिमको बालश्रम भनेको बालबालिका अवैध काममा लाग्ने, बालबालिकालाई अश्लील सामग्री उत्पादनमा प्रयोग गर्ने काम भयो भने जोखिमपूर्ण काम कारबाहीमा लागेका बालबालिकालाई निकृष्ट किसिमको बालश्रम भनिन्छ। गाउँबाट सहर सानै उमेरमा आएर काम गर्दै पढ्ने हिसाबले काम गर्छन्। त्यो पनि एउटा फरक किसिमको बालश्रम हो।’
२०१७ र०१८ मा विश्व श्रम शक्ति सङ्गठनको तथ्याङ्कको अनुसार झन्डै ११ लाख भन्दा बढी बालबालिका श्रममा लागेका छन्। नयाँ तथ्याङ्क दुई वर्षपछि आउनेछ। तर तथ्याङ्क अनुसार बाल श्रमिकको सङ्ख्या घटिरहेको छ र अझै घट्ने अवस्था रहेको उनले जानकारी दिए। 
‘गरिबी र दैविक विपत्तिका कारण पनि जीविकोपार्जन गर्नका लागि पनि श्रममा बालबालिका श्रममा लाग्ने गरेका छन्। जसका कारण बाल श्रमिकको सङ्ख्या केही बढेको जस्तो देखिन्छ। बाल श्रम मुक्त समाज निर्माण गर्न शिक्षाको आवश्यकता पर्छ। गरिब, विपन्न परिवारका बालबालिकालाई बढी प्राथमिकतामा राख्यो भने बाल श्रमिकको सख्यां घट्न सक्छ,’ उनले अगाडि भने,‘यसका लागि आइएलओले सरकारी निकाय अर्थात् स्थानीय सरकारसँग मिलेर काम गरिरहेको छ। २०२८ सम्म बालश्रम मुक्त गर्ने लक्ष्य पनि राखेको छौँ। सरकारले पनि बालश्रममुक्त पालिका भनेर घोषण गर्न थालिसकेको छ।’
स्थानीय निकायदेखि नै बाल श्रमिक राख्ने एवम् बालबालिकालाई श्रममा लगाउने कामबाट मुक्त गराउने अभियानमा मन्त्रालयले पनि काम गरिरहेको उनले जानकारी दिए।
‘नेपाललाई बालश्रममुक्त बनाउनका लागि आइएलओले स्थानीय सरकारसँग समन्वय गरिरहेको छ। केही पालिकाले बालश्रम मुक्त घोषण गरिसकेकाले यसलाई सकारात्मक रूपमा लिन सकिन्छ,’ उनले भने। 
श्रमलाई विभिन्न तरिकाले परिभाषित गरिएको छ। शारीरिक वा मानसिक तवरले परिपक्व मान्छेले गर्ने काम श्रम हो भने बालश्रम बालबालिकाले गर्ने अपरिपक्व उमेरमा परिपक्व झैँ गर्ने शारीरिक अथवा मानसिक श्रम भनिएको छ।
जुनसुकै खालको रोजगारयुक्त कार्य, जहाँ बालबालिकाको बाल्यकालमा प्रत्यक्ष असर पुग्दछ, स्कुल जान अवरोध पुग्दछ अथवा मानसिक, सामाजिक र शारीरिक रूपमै बालबालिकालाई असर पु¥याउने नियमितका कामहरूमा यदि बालबालिका संलग्न हुन्छन् या संलग्न गराइन्छ भने त्यसलाई बालश्रम भन्ने गरिएको छ।