निर्मला पन्तको बलात्कार पछिको हत्याको सम्बन्धमा प्रहरीले हेरिराखेको केस हो। रवि लामिछाने जुन बेला गृहमन्त्री हुनुहुन्थ्यो त्यस बेला उहाँले हत्याकाण्डदेखि लिएर अरू थुप्रै कुराहरू मुख्य प्राथमिकतामा राखेर काम गर्नेगरि तयारी गर्नु भएको थियो। उहाँले ठुला ठुला भ्रष्टाचारका काण्डहरू खोल्नेदेखि लिएर एक प्रकारको ‘सिंगम स्टाइल’मा काम गर्नको लागि प्रयास सुरु गर्नु भएको थियो। तर त्यो कसैलाई मन परेन वा रुचेन। ठुला नेताहरू जेल जाने अवस्था आयो। सरकार नै ढालेर रवि लामिछानेलाई बाहिर ल्याउने मात्रै नभई थुनामा पठाउने अवस्था ल्याइदिए।
निर्मलाको विषयलाई प्राथमिकतामै राखेर काम गर्नुपर्छ भन्नेमा हामी छौँ। यसमा दलीय रूपमा गर्न सक्ने कुराहरू, आवाज उठाउने कुराहरू, सदनमा यसलाई बुलन्द गर्ने कुुराहरु सम्बन्धित समितिमा कुराहरू उठाउनेमा लागिराखेका छौँ। रवि लामिछाने सम्बन्धमा मानव अधिकार हन्नका दुई वटा ठुला घटनाहरू नै घटे। राती उहाँलाई सुतिरहेको अवस्थामा अचानक उठाएर चितवनबाट पोखरा लैजाने काम भयो। उहाँलाई स्थानान्तरण गर्ने काम गरियो। त्यो मानव अधिकार हनन भएको घटना थियो। अर्को भनेको उच्च अदालतको आदेश आएको सूचना प्रहरीले रेडियो वा टेलिभिजनबाट सुन्नेवित्तिकै कसैले परिचालन गरेको शैलीमा राती नै समातेर अपहरण शैलीमा लिएर जाने काम भयो। त्यस विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा हामीले निवेदन दिएका छौँ। 
यस्तो अवस्थामा हुँदाहुँदै पनि हामी सहकारी पीडित, मिटरव्याज पीडितहरूका कुरा सरकारलाई सोध्ने मात्र नभई निर्मला पन्त हत्याकाण्ड जस्ता कुराहरूलाई पनि प्राथमिकतामा राखेर आवाजहरू उठाइरहेका छौँ। एक जना वालिका यसरी बलात्कृत हुनु दुर्भाग्यपूर्ण कुरा हो। यस्तो घटनापश्चात् पनि राज्यले प्रभावकारी ढङ्गले अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्ने हो र परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने थियो त्यसमा राज्य चुकेको देखिन्छ।
विभिन्न किसिमका अनुसन्धानमा अवरोधहरू खडा भएजस्तो देखिन्छ। अनुसन्धानलाई पठाइएका अनुसन्धान अधिकृतहरू पनि सक्षम थिएनन् की भन्ने लाग्छ। किनभने निर्मलाको कपडा चाहिँ पानीमा भिजाएर पखालेको जस्तो देखिन्छ। प्रमाण नष्ट होस् भन्ने हिसाब त्यस्तो काम भएको छ। तर यस घटनाले छिटो न्यायिक रूपमा पुरा होस् र उहाँलाई न्याय मिलोस् भन्न चाहन्छु।
निर्मला जस्ता सयौँलाई न्याय दिने गरी रवि लामिछानेले गर्न खोज्नु भएको कामप्रति हामी दृढ छौँ। तर उहाँलाई जुन हिसाबले खेदियो त्यो दुर्भाग्यपूर्ण छ। उहाँलाई काम गर्नै दिइएन। यदि ६÷८ महिना काम गर्न पाएको भए यस्ता केही काण्डहरू र निर्मला पन्तको वास्तविकता बाहिर आउँथ्यो। प्रमाण नष्ट गर्नेहरूलाई नै समातेर अनुसन्धान सुरु गर्ने हो भने सबै कुरा बाहिर आउँछ। त्यसमा को को संलग्न थिए, कहाँ कहाँबाट प्रमाण लुकाउन आदेश आयो ? त्यो आदेश कसरी आएको थियो भन्ने हिसाबमा लागेको भए अहिलेसम्म अनुसन्धान टुंगिसक्थ्यो। दोषीहरू पक्राउ पर्ने थिए। यदि सम्बन्धित व्यक्तिहरू दृढ भएर लाग्ने हो भने यस्ता गुपचुप भएका घटनाहरूबाट दोषी पत्ता लाग्ने र निर्दोषहरू उम्किने अवस्था अवश्य आउँछ।