किरात राई यायोखका केन्द्रीय उपाध्यक्ष तिलक राईले बेलबारी नगरपालिकाले खेलकुद क्षेत्रको विकासमा प्रभावकारी ढङ्गले बजेट नलगाएको आरोप लगाएका छन्। बेलबारीमा जारी प्रथम स्वः रमेश लामा स्मृति नकआउट फुटबल प्रतियोगिता २०८२ को तेस्रो दिनको खेलको प्रमुख अतिथिको मन्तव्यमा यस्तो आरोप लगाएका छन्।
उपाध्यक्ष राईले नगरपालिका स्तरको खेल पूर्वाधार निर्माणमा गम्भीरता नदेखिएको जनाउँदै भने, “नगरपालिकाले खेल क्षेत्रमा कुखुराले छरेजस्तो बजेट वितरण गरेको छ, जसले ठोस परिणाम दिन सक्दैन।”
नगरभित्र रहेका सबै वडाहरूलाई समेट्ने गरी ‘एक वडा, एक नगरपालिका स्तरीय रङ्गशाला’ निर्माण गर्न सुझाव दिएका छन्। “सबै वडालाई समेट्ने साझा र भव्य रङ्गशाला निर्माणले युवाहरूमा ऊर्जा थप्नेछ र नगरको खेलकुद क्षेत्रको स्तर पनि उकासिनेछ उपाध्यक्ष राईले बताए।
राईले स्थानीय तहले योजनाबद्ध रूपमा लगानी नगरेसम्म खेलकुद क्षेत्रको विकास सम्भव नहुने उल्लेख गरेका छन्।