सुनचाँदी व्यवसायी तथा कालिगढ सङ्घर्ष समितिले आइतबार काठमाडौँको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ।
सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन्। उनीहरूले आइतबार बिहान विभिन्न प्लेकार्ड र कालो ब्यानर बोकेर न्यूरोड गेटदेखि वसन्तपुर डबलीसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन्। 
सुनचाँदी व्यवसायी महासङ्घका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२/८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए। 
उनले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी तथा पत्थरहरूमा १३ प्रतिशत कर लगाएको भन्दै यसलाई खारेज गर्नुपर्ने बताए। 
उनले भने, ‘२०८२/८३ को जुन बजेट आएको छ, त्यसमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई एकदमै प्रभाव पार्ने भएकाले सुनका गरगहनामा लगाइएको विलासिता कर खारेजी गराउनका लागि र रत्न तथा पत्थरहरूमा १३ प्रतिशत कर लगाएको छ, त्यो पनि खारेज गर्नुपर्छ। साथै व्यावसायिकलाई आवश्यक ऐनको धेरै वर्षदेखि माग गर्दा पनि सुनुवाइ नभएपछि सरकारलाई ध्यानाकर्षण गराइएको हो। सम्बन्धित निकायले सुनुवाइ गरेन। सधैँ आश्वासन मात्र दिने काम भयो। हाल आएको प्रावधानबाट व्यवसाय गर्न सकिँदैन। देशभरिका व्यवसायी मिलेर अझै सशक्त ढङ्गमा अगाडि बढ्ने सल्लाह भइरहेको छ।’
उनीहरूले उपभोक्ता कर्मचारी र कालिगढ तथा व्यवसायीमैत्री ऐन जारी गर्न पनि माग गरेका छन्।