मोरङको ग्रामथान गाउँपालिका–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा एक वृद्धाको शव फेला परेको छ।
अघिल्लो दिन घरबाट हराएकी ग्रामथान गाउँपालिका–७ की ८९ वर्षीया तिलमाया खड्कालाई नहरको पानीमा घोप्टो परेर डुबेको अवस्थामा आज अपराह्न मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओलीले बताए। उनका अनुसार वृद्धा शनिवार घरबाटै हराएको पाइएको छ।
अघिल्लो दिन घरबाट हिँडेकी वृद्धाको शव भोलिपल्ट नहरको पानीमा डुबेको अवस्थामा भेटिएको इन्स्पेक्टर ओलीले बताए। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको मानसिक सन्तुलन कमजोर रहेको पत्ता लागेको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको छ।