कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले साउन २ र ३ गते हिन्दकुश हिमालय संसदीय सम्मेलनको आयोजना गर्न लागेको छ।
शुक्रवार बसेको समितिको बैठकमा उक्त सम्मेलन आयोजना गर्ने सम्बन्धमा वन तथा वातावरण, परराष्ट्र मन्त्रालय र राष्ट्रिय योजना आयोगसँग छलफल भएको छ।
सोही क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले हिन्दकुश हिमालय सम्मेलनलाई वन तथा वातावरण मन्त्रालयको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले भने, ‘हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलनसँग जोडिने कुरा भनेको जलवायु परिवर्तन, वायु प्रदूषण, वातावरण संरक्षण, जैविक विविधता संरक्षणलगायत समग्र हिमालय क्षेत्रका समस्याहरूका बारेमा नेपालमा व्यापक छलफल र यस विषयमा आगामी दृष्टिकोण तयार गर्नका लागि अहिले गर्न खोजिएको कार्यक्रम महत्त्वपूर्ण हुनेछ। यो कार्य सफल गर्नका लागि विशेष गरी नेपाल सरकारको तर्फबाट वन तथा वातावरण मन्त्रालयको सहयोग पूर्ण रूपमा रहने छ। मन्त्रालय यसका लागि पूर्ण रूपमा प्रतिबद्ध छ।’
उनले सम्मेलनबारे मन्त्रालयको जिम्मेवारीमा आएको सबै कुरामा पूर्ण सक्रियता देखाउने पनि बताए।
हिन्दकुश हिमालयका जनप्रतिनिधिहरू सहभागी रहने सम्मेलन र सगरमाथा संवाद एकै पटक गर्ने योजना भए पनि प्रभावकारिता कम हुने हिसाबले सारिएको पनि उनले जानकारी दिएका छन्।



















